कुमोद अधिकारी
३० असार,
विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिएको छ ।
प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकले वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिएको जानकारी गराएको हो ।
कोशी प्रदेशका सवै वडा, स्थानीयतह र जिल्लाहरुले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिसकेकाले कोशी प्रदेशलाई असार ३२ गते घोषणा गरिने स्वास्थ्य मन्त्रालय कोशी प्रदेसका सचिव डा. राधिका थपलियाले बताउनुभयो ।
उहाँले वडा, स्थानीयतह र जिल्ला घोषणा भईसकेकाले चालु आर्थिक वर्ष भित्रमै प्रदेशलाई पनि पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने बताउनुभयो । उहाँले प्रदेशभित्र अझै पनि नियमित खोप कार्यक्रममा केही बालबालिका छुट्ने गरेको पाईएकाले आगामी वर्षहरुमा यसलाई शुन्यमा झार्न निर्देशन दिनुभयो ।

प्रत्येक वर्ष पूर्णखोप सुनिश्चित एवं दिगोपना गर्नु पर्ने भएकाले आ.व.२०८१–०८२ मा पनि सवै जिल्लाहरुमा पूर्णखोप सुनिश्चित एवं दिगोपना भएको प्रमाणित कागजातहरुको आधारमा सवै बालबालिकाहरुले खोप पाएको सुनिश्चितता भएको हुँदा प्रदेश खोप समन्वय समितिबाट प्रमाणित गरिएको कागजातहरु राष्ट्रिय खोप समन्वय समितिमा अनुमोदनका लागि पठाईने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा खोप समन्वय समितिका सदस्य सचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
समन्वय समितिको बैठकमा खोपबाट बचाउन सकिने रोगहरुको अवस्था, नियमित खोप व्यवस्थापन, खोप निगरानी, जापनिज इन्सेफ्लाईटिस लगायतबारे छलफल गरि आगामी आर्थिक वर्ष २०८२–०८३ मा खोपलाई विशेष प्राथमिकतामा राखी खोप कार्यक्रमलाई प्रभावकारि बनाईने निर्णय गरिएको सदस्यसचिव बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश खोप समन्वय समिति बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अर्जुन निरौला, जनस्वास्थ्य संघका महासचिव कैलाशखाकी श्रेष्ठ, नेपाल पत्रकार महासंघ महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी लगायतले कोशी प्रदेशमा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । सो अवसरमा डा संगीता साहले कोशी प्रदेस पुर्णखोप कार्यान्वयन एंव दिगोपनाको अवस्था वारेमा जानकारी गराउनु भएको थियो ।