धान दिवसका अवसरमा महानगरद्वारा सामूहिक रोपाइँ आयोजना

विराटनगर ÷ २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ ।
महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले विराटनगर वडा नम्बर १६ को दरैयामा आयोजना गरेको कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामूहिक रोपाइँको शुभारम्भ गर्नुभएको थियो । स्थानीय दरैहिया कृषि सहकारी संस्थाको समेत सहयोगमा आयोजित कार्यक्रममा उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्म्बर १६ का अध्यक्ष उद्धव भुजेल, वडा नम्बर १० का अर्जुन गिरी, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, नगर प्रहरीका प्रमुख राजन पौडेल, कृषि तथा पशुपंक्षी विकास शाखाका प्रमुख हिरालाल यादवलगायतले सामूहिक धान रोप्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आयातलाई प्रतिस्थापन गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्नेमा जोड दिनुभयो । धानको खपत बढ्दै गएको चर्चा गर्दै उहाँले धानमा समेत नेपाल आत्मनिर्भर हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । असार १५ को छुट्टै महत्व रहेको बताउँदै उपमेयर कार्कीले आयातलाई प्रतिस्थापन गर्ने गरी धान उत्पादन गर्नु आवश्यक रहेको औंल्याउनुभयो । धान रोपाइँपछि दही, चिउरा खाएर खुसी साटासाट गरिएको थियो । महानगरले हरेक वर्ष असार १५ गते सामूहिक धान रोपाइँ आयोजना गर्दै आएको शाखा प्रमुख यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष वडा नम्बर १९ को घिनाघाटमा सामूहिक धान रोपाइँ आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *