विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई मा मोरङ जिल्लाका १८ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । जिल्ला शिक्षा समन्वय इकाई, मोरङका अनुसार १८ मध्ये सबैभन्दा बढी विद्यार्थी विराटनगरका छन् । विराटनगरबाट मात्रै १६ जना विद्यार्थीले ४ जिपिए हासिल गरेका छन् । त्यसैगरी, पथरीशनिश्चरे नगरपालिकाबाट २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सबैभन्दा बढी ४ जिपिए ल्याउने विद्यार्थीहरू विराटनगरको बाल कल्याण विद्या मन्दिर स्कुलबाट रहेका छन् । सो विद्यालयका ६ जना विद्यार्थीले पूर्ण अंक ल्याएर शैक्षिक उत्कृष्टता प्रदर्शन गरेका हुन् । ती विद्यार्थीहरूमा अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिक कुमार पोद्दार, प्रिन्सा साह र स्नेतहल राज साह रहेका छन् । यसैगरी, विराटनगरकै सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयका चार विद्यार्थीले पनि ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरूमा प्रिन्स कुमार गुप्ता रौनियार, प्रियांश यादव, समयोग भट्टराई र श्रेय शर्मा रहेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीबाट यस्तो उत्कृष्ट नतिजा आउनु गर्वको विषय बनेको छ । जिल्लामा सरकारी, निजी तथा सामुदायिक विद्यालयहरूबाट ४ जिपिए ल्याउने विद्यार्थीहरूको संख्या बढ्दै जानु शिक्षा प्रणालीमा भइरहेको सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ। शिक्षा समन्वय इकाई मोरङले यस्तो उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय परिवारलाई बधाई तथा शुभकामना दिएको छ ।