नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन भन्ने सन्देश अहिलेको नीति कार्यक्रमले दिएको छ ः मुख्यमन्त्री कार्की

जेष्ठ ११ ,विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन भन्ने सन्देश अहिलेको नीति कार्यक्रमले दिएको बताउनुभएको छ । उहाँले यस पटकको नीति तथा कार्यक्रम छोटो छरितो र सबै विषयलाई समेट्ने खालको भएको बताउँदै यो नीति कार्यक्रमले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको बताउनुभयो ।
आइतवार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको नीति कार्यक्रमले प्रदेशमा आर्थिक उन्नति र र आन्तरिक आय बढाउन जोड दिएको उल्लेख गर्नुभयो ।
नीति कार्यक्रमले दोस्रो आवधिक योजनाको लक्ष्य र प्रदेश सरकारले लिएको दीर्घकालीन लक्ष्यलाई समेत समेटेको उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे समझदारी हुँदै बनेको सरकारले सातवटा मूलभूत समस्याको समाधान गर्न सुरु गरेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले समस्याहरू समाधान गर्दै सरकारले महत्वपुर्ण उपलब्धि हासिल गरेको बताउनुभयो ।
’३ बुँदे मर्ममा भएको ७ बुँदे सहमति पछिल्लो समयमा निकै प्रभावकारी भएको छ,’ उहाँले भन्नुभयो ’१० महिनाको अन्तरालमा बिग्रिएको आर्थिक अवस्था ट्र्याकमा ल्याउनु मात्रै होइन, निर्यात प्रवद्र्धनजस्ता क्षेत्रहरूमा पनि उल्लेखनीय सफलता हासिल भएको छ।’
कार्कीले विकासका राम्रा नीतिहरूप्रति सकारात्मक समर्थन जनाउनु स्वाभाविक प्रक्रिया भएको बताउँदै भन्नुभयो, “कुनै व्यक्तिले, संस्थाले वा दलले सरकारले अघि सारेका राम्रा योजनाको समर्थन गर्नु भनेको सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरू बन्ने चाहना देखाउनु होइन। यो सामान्य प्रक्रिया हो।”
नीति, कार्यक्रम र बजेटबीचको सम्बन्धबारे स्पष्ट पार्दै मुख्यमन्त्री कार्कीले “नीति र कार्यक्रम विकासको मार्गदर्शन हो भने बजेट त्यसैको कार्यान्वयनका लागि साधन हो,” उहाँले भन्नुभयो , “पछिल्ला आठ वर्षमा आठवटा नीति तथा कार्यक्रम आइसकेका छन्। त्यसमा निरन्तरता र स्थायित्व जरुरी छ।”
उहाँले नीति तथा कार्यक्रममा राष्ष्ट्रिय विभूति, पूर्व राष्टाध्यक्ष तथा आन्दोलनका सहिदहरुको घर संरक्षण गर्ने र यसलाई प्रदेश सरकारको मातहतमा ल्याउने कुराको विरोध गर्न समेत आवश्यक नभएको बताउनुभयो । उहाँले इतिहासको संरक्षण गर्दै भावि पुस्तालाई जानकारी दिन पनि ती संरचनाको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *