खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव सम्पन्न ः पत्रकारिता निष्पक्ष र सशक्त हुनुपर्ने जोड,

कुमोद अधिकारी
२९ वैसाख,
विराटनगर । खबर पूर्वाञ्चल मिडीय प्रालीद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइनको १० औँ वार्षिकोत्सव सोमबार एक समारोहबीच सम्पन्न भएको छ ।
सो अवसरमा कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकमा मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा वोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशसभाका सदस्इ जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको उल्लेख गर्नुहुदै पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्नेमा जोड दिनुभयो । अनलाईन मिडियालाई सक्षम र सवल वनाउन प्रदेस सरकार तत्पर रहेको उहको भनाई थियो ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीले मिडिया क्षेत्रले दलीय प्रभावबाट माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने वताउदै प्रादेशिक संरचनाको आर्थिकभार सम्बन्धमा कुरा उठाउनु भयो । ‘अहिलेको प्रादेशिक संरचनाको भार मुलुकले कहिलेसम्म धान्न सक्छ ? संघीय सरकारमा जति संरचना छ त्यति नै प्रदेशमा पनि बनाउनु के आवश्यक छ,’ उहाले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासँघका केन्द्रीय सदस्य नवीन रिजालले निजिक्षेत्र मात्र होइन मुलुकमा सबै क्षेत्रको अवस्था जर्जर रहेकाले मुलुकमा आर्थिक विकासमा लागि कलम चलाउन संचारकर्मीलाई आग्रह गर्नुभयो । ‘निजी क्षेत्र, मिडिया, रोजगारी, औद्योगिक लगायतका क्षेत्रको अवस्था जर्जर हुनुको कारण पहिचान गरेर मिडिया क्षेत्रले निरन्तर वकालत गर्नु अहिलेको आवश्यक रहेको उहाको भनाई थियो ।


उहाले आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो ‘सरकारले बर्सेनि आन्तरिक र बाह्य ऋण लिएर यसरी कति दिनसम्म देश चल्छ भनेर प्रश्न उठाउनु पनि आवश्यक छ । १८ खर्बको बजेट बनाउने तर आय ११ खर्बभन्दा बढी नहुने अवस्था गम्भीर छ।’
विराटनगरबाट प्रकाशित हुने खबर पूर्वाञ्चल डटकमले स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्दै आएको कार्यक्रमका सहभागिहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, प्रेस यूनियन केन्द्रीय उपमहासचिव अभय राई, प्रेस यूनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवोदित, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष सुमन पुरी, समाजवादी प्रेस संगठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी र मोरङका उपाध्यक्ष सन्तोष सिग्देललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वक्ताहरूले मिडियाले मुलुकको सबै क्षेत्रमा सुधारका लागि निरन्तर आवाज उठाइरहनुपर्ने अपरिहार्यता रहेको बताउनुभयो साथै, पत्रकारिताको क्षेत्रमा ठूलो योगदान र्पुयाएकोमा खबर पूर्वाञ्चल अनलाइनलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
खबरपूर्वाञ्चलका अध्यक्ष पुष्पराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तेजेन्द्र भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो । यसैगरी सो अनलाईनका सम्पादक डा.डिल्ली पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *