जाइकाको खानेपानी परियोजना सफल बनाउन सरोकारवालाको प्रतिबद्धता

कुमोद अधिकारी
१६ असोज,
विराटनगर ÷ जापान सरकार (जाइका)को अनुदान सहयोगमा विराटनगरमा सुरु हुन लागेको वृहत्तर खानेपानी परियोजनालाई बिना अवरोध सम्पन्न गर्न विराटनगर महानगरपालिकाले सरोकारवालाहरूसित छलफल गरेको छ ।
महानगरको समन्वयमा भएको छलफलमा सरोकारवालाहरूले परियोजना सफल बनाउन सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ जापान सरकारको सहयोगमा वृहत्तर खानेपानी परियोजनाका लागि पाइपलाइन बिछ्याएर परीक्षणसमेत भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, खानेपानी संस्थान, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायतका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा परियोजना सञ्चालनका क्रममा आइपर्ने समस्या समाधान गरिदिन परियोजनाका इन्जिनियर अरविन्द कर्णले आग्रह गर्नुभयो ।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, परियोजना सञ्चालन हुने वडाका वडाध्यक्ष काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, विश्वनाथ भगत, सूर्यलाल यादव, वडासदस्य देवु मण्डल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापा, खानेपानी तथा सरसफाई प्रमुख कल्पना दाहाल, परियोजनाका परामर्शदातालगायतको उपस्थितिमा भएको छलफलमा कर्णले सरोकारवालाहरूले सहयोग गरे तोकिएको मितिभित्र परियोजना सम्पन्न गर्ने जानकारी दिनुभयो ।
परियोजना सञ्चालन गर्दा विभिन्न अवरोध आउन सक्ने सम्भावना देखेर सरोकारवालाहरूसित छलफल राखिएको महानगरका तर्फबाट परियोजनाका लागि सम्पर्क व्यक्ति पुनमकुमार दाहालले बताउनुभयो

उहाले सानो विषयले पनि परियोजनाको काममा अवरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राखिएको छलफल अत्यन्तै फलदायी भएको जानकारी गराउनुभयो ।
छलफलमा मेयर नागेश कोइरालाले शुद्ध खानेपानी वितरण गर्ने क्रममा कुनै समस्या नआउने गरी काम गर्न परियोजनालाई आग्रह गर्नुभयो । ‘भविष्यमा पानीका पाइप फुट्ने, खिया लाग्ने, अन्य परियोजना सञ्चालन गर्दा खानेपानीका पाइपले अवरोध गर्नेजस्ता कुरालाई अहिले नै विचार पु¥याएर काम गर्न म आग्रह गर्दछु,’ उहाले भन्नुभयो ‘परियोजना गुणस्तरीय रुपमा तोकिएकै मितिभित्र सम्पन्न हुनुपर्छ । त्यसका लागि महानगरका तर्फबाट जुनसुकै समयमा जस्तोसुकै सहयोग गर्न तयार छ ।’ उहाले परियोजना सञ्चालन हुने वडाका वडाध्यक्षहरूलाई सहजीकरण गर्न आग्रह गर्नुभयो ।
परियोजनाका व्यवस्थापक सन्तोष रौनियारले जाइकाको परियोजना कार्यान्वयनका क्रममा आइपरेका सबै समस्या समाधानका लागि महानगरका प्रमुखले खेलेको भूमिकाका कारण समयमै सुरु भएको बताउनुभयो । महानगरका प्रमुखको सहयोगले विभिन्न समस्या सहज रुपमा समाधान गर्दै आएकाले परियोजना सञ्चालनका क्रममा भविष्यमा पनि कुनै समस्या नहुने उहाले विश्वास व्यक्त गर्नुभयो ।
२ अर्ब २९ करोड जापानी ऐन लागत रहेको उक्त परियोजनाका लागि ६८ किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । देवकोटाचोक, तीनपैनीचोक र मुनालपथस्थित संस्थान परिसरमा १२–१२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्यांकी निर्माण गरिनेछ । त्यस्तै विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउड ट्यांकी पनि निर्माण हुने इन्जिनियर कर्णले जानकारी दिनुभयो । कर्णका अनुसार सबै ट्यांकी भएको स्थानमा ३–३ वटा पानी तान्ने बोरिङ, पानी प्रशोधनका लागि फिल्टरसमेत जडान हुनेछ । सन् २०२६ को मे ३१ तारिखमा सम्पन्न गर्ने गरी सुरु गरिएको परियोजनाबाट १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *