विराटनगरका केवल र नेटका तारलाई व्यबस्थित बनाइने

असोज १३ विहिवार,

कुमोद अधिकारी, विराटनगर

विराटनगरको सौन्दर्यका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ ।
महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ । महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौं, तर एकपटक तपाईंहरुलाई आग्रह गरौं भनेर हामीले बोलाएका हौं,” मेयर कोइरालाले भने, “यदि तपाईंहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नु भएन भने हामी एक्सनमा उत्रिन्छौं ।”
जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको मेयर कोइरालाको भनाइ थियो । तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट पनि सहयोग गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । त्यसका लागि सहजीकरणको जिम्मेवारी इन्जिनियर अनिल सिंहले तोकिएको छ । पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न मेयर कोइरालाले निर्देशन दिए । “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि कम्परमाइज हुँदैन,” कोइरालाले भने, “कम्तीमा कात्तिक मसान्तभित्र बजार एसियाका तार व्यवस्थित गरिसक्नुहोस् ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने प्रस्ट्याए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो । “तपाईं केवल र नेट व्यवसायीहरुले पनि कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला हामी चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौं,” कोइरालाले भने, “
वर्डलिङ, म्याक्स, क्लासिटेक, सुविसु, भाइनेट, कनेटलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तारहरु काम नलाग्ने रहेको बताए । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भने, “पोलमा बिग्रिएका तार निकालिँदैन, त्यही छाडिन्छ, त्यस्ता तारहरु करिब ६० प्रतिशत छन् । ४० प्रतिशत मात्रै काम लाग्ने तार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *