कुमोद अधिकारी विराटनगर
पुष ४ वुधवार
मोरङको वुढिगंगा गाउपालिका स्थित टंकिसिनवारीमा सुविधा सम्पन्न आर आर इन्टरनेशनल अस्पताल संचालनमा आउने भएको छ । शिवम् अर्गनाईजेशनका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले ३ वर्षभित्र सञ्चालनमा ल्याउने आज सो अस्पतालको शिलान्यास गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सि.सि.आई) कोशी प्रदेश समितिका अध्यक्ष समेत रहनु भएको उद्योगी राउतले आफ्नो र नातिनीको नामबाट अस्पताल निर्माणको तयारी थाल्नु भएको हो । अस्पतालको निमार्ण लागत २ अर्ब ५० करोड रुपैया रहेको छ ।
विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको धरान विराटनगर सडक खण्ड अन्तर्गत बुढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा निर्माण गर्न लागिएको अस्पतालको शिलान्यास पछि आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष राउतले एक हप्ता भित्र अस्पतालको निर्माण कार्य सुरु भएर ३ वर्षभित्र अस्पताल सञ्चालनमा आइसक्ने जानकारी गराउनुभयो ।
२ वर्षभित्र अस्पतालको संरचना निर्माण हुनेछ । बाँकी १ वर्षभित्र सम्पूर्ण तयारी पुरा गरेर अस्पताल सञ्चालनमा ल्याइने छ ।
अस्पतालका निर्देशक प्रतिक राउतले सुरुमा २ सय बेडको अस्पताल निर्माण गरिने र पहिलो चरणमा १ सय बेड अस्पताल सञ्चालनमा आउँने त्यसपछि दोस्रो चरणमा २ सय बेडको अस्पताल सञ्चालनमा आउने वताउनुभयो । अस्पतालको सम्पूर्ण निर्माण कार्य पुरा भई सकेपछि ३ सय बेडको अस्पताल सञ्चालनमा आउने उहाको भनाई छ ।

मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर २४सैं घण्टा इमर्जेन्सी सेवा, जनरल सेवा, मेडिसिन सेवा, न्युरो सर्जरी सेवा, जनरल सर्जरी सेवा, मृगौला रोग, मूत्र रोग, स्त्री तथा प्रसुती रोग, आँखा रोग, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग लगायत रोगको उपचार सेवा अस्पतलााम सञ्चालनमा ल्याउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
बी.एस.सी. नर्सिङ अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिने क्रम बढ्दो क्रममा रहेकोले सो अस्पतालले त्यसलाई रोक्ने जनाइएको छ ।
आरती स्ट्रीप्स प्रा.लि.को दक्षिण तर्फ राउत कन्ट्रक्सनको अढाई बिघा जग्गाको क्षेत्रफल मध्ये १८ कठा क्षेत्रफल जग्गमा अस्पताल निमार्ण हुने अस्पतालका अध्यक्ष राजेन्द्र राउतले वताउनुभयो ।