विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले शुक्रबार शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबारनै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका हुन् । मेन्याङ्बोलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्य, कार्कीलाई भौतिक पूर्वाधार विकास, राईलाई वन वातावरण तथा पर्यटन र उद्योग, भूमि व्यवस्था तथा कृषि मन्त्रालय र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफूसँगै राखेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएसम्म सरकारमा सहभागी नहुने एमालेसँग सहकार्य गर्दै आएको राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले बताए ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । ‘अबको पहिलो प्रयास सबै दललाई मिलाएर सहमतिको सरकार बनाउने काम हुन्छ,’ उनले भने, ‘कार्यकाल बाँडेर होइन सबै मिलेर सरकार चलाउने सहमतिका लागि प्रयास हुन्छ र सबै मिलेर विश्वासको मत दिएर प्रदेशलाई राजनीतिक स्थायित्व प्रदान गर्नेमा विश्वस्त छु । निवर्तमान मुख्यमन्त्री तथा गठबन्धन दल कांग्रेस नेता उद्धव थापाले सर्वदलीय वा सहमतिको सरकारको विषयमा गठबन्धन दलको शीर्ष नेताहरूबीच छलफल भएर निर्णय गरेपछि मात्रै हुने बताए । ‘प्रदेशलाई मध्यावधि चुनावमा जान नदिन नवनियुक्त मुख्यमन्त्रीज्यूले गठबन्धन दलका शीर्ष नेतासँग छलफल गरेर सहमतीय सरकार गठनका लागि निर्णय गराउन सक्नुपर्छ,’ उनले भने, ‘हामीले सहमतीय सरकारका लागि सुझाव दिएका छौं ।

निवर्तमान मुख्यमन्त्री थापाले भदौ ४ मा लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा दायर गरेको रिट निवेदनको पूर्ण सुनुवाइपछि जारी गरेको परमादेशको आधारमा प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।