कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन

विराटनगर :सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ । 

अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको उनले बताए । बख्तरबन्ध गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएको र त्यसपछि प्रदर्शनकारी तितरबितर हुन थालेका कारण अवस्था सामान्यतर्फ उन्मुख भएको जानकारी घिमिरेले दिए । तर,सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका थिए । 

दुई समुदायबीचमा आइतबार राति तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको छ, प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ । कप्तानगञ्ज देवानगञ्ज हरिनगर क्षेत्रमा कर्फयू उल्लंघन गर्दै समूहसमूह बनाएर स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट पनि प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी झिकाइएको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *