विराटनगर । भारतबाट जोगवनी हुँदै नेपाल प्रवेश गर्ने नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मोरङ प्रशासनले सीमा सुरक्षालाई थप चुस्त बनाउन र अवैध गतिविधि नियन्त्रण गर्न मंगलवार देखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिका लागि अनिवार्य परिचयपत्र वा विश्वासिलो आधार पेस गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरेको हो।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले केही दिनअघिदेखि सुरु गरिएको यो व्यवस्थालाई आजबाट नियमित रूपमा जाँच गरिने जानकारी दिनुभयो। कोइरालाका अनुसार दुई देशको सिमानामा हुने अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रण गर्न यो प्रक्रिया थालिएको हो। “यो एउटा नियमित सुरक्षा प्रक्रिया हो। दुवै मुलुकको हितका लागि सीमामा हुने गैरकानुनी कार्य रोक्न हामीले सतर्कता अपनाएका हौं,” उहाँले भन्नुभयो।
सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाउन आज मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहितको टोली स्वयं नाकामा उपस्थित भएर चेकजाँचको अनुगमन गरेको थियो। नाकामा सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने सुरक्षा जाँचका लागि दुईवटा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।
विशेष गरी भारतको पश्चिम बंगालस्थित मालदह क्षेत्रमा रोहिंग्या समुदायको बाक्लो बसोबास रहेको र त्यहाँको चुनावी नतिजापछि ती समुदायका व्यक्तिहरू अन्यत्र बसाइसर्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।