सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बाट गैँडाको खागसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराउ, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङको पथरीशनिश्चरे–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे छन् । उनीहरुलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
झापाबाट गैँडाको खाग ल्याइरहेको गोप्य सूचनाका आधारमा परिचालित टोलीले उनीहरूलाई एकै ठाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट एउटा खाग र दुईवटा मोटरसाइकल बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय सुनसरीमा बुझाइएको छ। कार्यालयका निमित्त प्रमुख शिवनारायण मण्डलका अनुसार उनीहरू खागको तौल लिँदै गर्दा फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने खाग कहाँबाट ल्याइएको हो र कता लैजान लागिएको थियो भन्ने अझै खुल्न बाँकी रहेको छ। एकसिङ्गे गैँडा अत्यन्तै दुर्लभ वन्यजन्तु भएकाले यसको खागको अवैध व्यापार अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित छ। उच्च मूल्यका कारण अवैध तस्करी हुने गरेको छ।
गैँडाको खाग तस्करीको ठूलो सञ्जाल रहेको हुनसक्ने अनुमान छ । डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख शिवनारायण मण्डलले बर्जु तालनजिकै खागको तौल लिँदा लिँदै सशस्त्रले फेला पारेपछि पक्राउ गरेर कारबाहीका लागि बुझाएको बताए । उनका अनुसार पक्राउ परेकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत मुद्दा चलाउनलाई थप अनुसन्धान अघि बढाइने छ ।