मोरङमा एचपिभी खोप अभियान १२ हजार ७ सय बालिकालाई खोप दिईने

कुमोद अधिकारी
२१ माघ,
विराटनगर मोरङमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको (एचपिभी) खोप अभियान माघ २५ गतेदेखि शुरु गरिने भएको छ ।
कक्षा ६ मा अध्ययनरन र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बालिकालाई लक्षित गर्दै अभियान सञ्चालनको तयारी गरिएको हो ।
जिल्ला खोप समन्वय समिति मोरङले आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले माघ २५ गते देखि अभियान शुरु गरिने बताउनुभयो ।
पाच दिन सम्म संचालन हुने सो अभियान अन्तर्गत मोरङमा ८२७ वटा खोप केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । गत वर्ष अभियानमा छुटेका बालिकाहरुलाई यस अभियानमा सहभागि गराईने उहाँले बताउनुभयो । गत वर्ष ५० हजार बालिकालाई यो खोप दिईएको थियो ।

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा बर्षेनी करिव १ हजार २ महिलाको ज्यान जाने गरेको छ । उहाँले भन्नुभयो,‘ हरेक स्थानीय तहहरुले भिआईए स्क्रिनिङ नियमित गर्दै आएका छन् । ३० वर्ष देखि माथिको उमेर समूहका महिलाहरुलाई प्राथमिकता दिएर स्थानीय तहहरुले स्क्रिनिङ गर्दै आएका छन् ।’ खोप अभियानमा लक्षित समूह नछुट्ने गरि कार्यक्रम सञ्चालन हुने घिमिरेले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले लक्षित समूहका बालिकाहरु नछुट्नेगरि अभियान सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप अभियानमा कुनै संकोच नमानी सहभागी हुन बालिकाहरुलाई आग्रह गर्नुभयो ।
निजि अस्पताल सञ्चालकहरुको संगठन अफिनका कोशी प्रदेश अध्यक्ष शंकर अधिकारीले खोप कार्यक्रमको ‘कभरेज’ शतप्रतिशत हुने गरि अभियान सञ्चालन गर्न सुझाव दिनुभयो । सरकारको खोप कार्यक्रममा सहभागी हुन्न भन्न कसैले नपाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख उषा झा, पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक लगायतले बोल्नु भएको थियो ।
आगामी वर्षदेखि एचपिभी नियमित खोप कार्यक्रममा सञ्चालन गरिने सो अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *