कुमोद अधिकारी विराटनगर
२७ चैत
पोखरीया माध्यमिक विद्यालय विराटनगर–३ मा गुणस्तरीय शिक्षाले कोशी तथा मधेश प्रदेशका अभिभावकहरुको ठुलो आकर्षण देखिएको छ।
अभिभावकहरुले आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा आर्जन गरी भविष्यमा योग्य नागरिक बनाउने उद्देश्यले विद्यालयमा अध्ययनका लागि प्रवेश परीक्षा दिनका सो विद्यालयमा ठूलो भीड लागेको हो ।
सामुदायिक उक्त विद्यालयमा कक्षा एक देखि नौं कक्षासम्मको प्रवेश परीक्षामा सहभागी हुन कोशी प्रदेशका १४ जिल्ला र मधेश प्रदेशका आठ जिल्लाका अभिभावकहरुले आफ्ना आफ्ना छोराछोरीहरुलाई सो विद्यालयमा ल्याउने गरेका छन ।
आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यालयले सोमबार र मंगलबारका लागि तय गरेको प्रवेश परीक्षामा निर्धारण गरेको सिट सङ्ख्या भन्दा चार गुणा बढी विद्यार्थीको आवेदन दिएका छन् । यस्तै शैक्षिक सत्र २०८१ का लागि विद्यालयले कक्षा एक देखि नौ सम्म ६४५ सिट निर्धारण गरेकोमा दुई हजार ४३१ विद्यार्थीले आवेदन दिएका छन् ।
सोमबार कक्षा छ देखि कक्षा नौ सम्मका विद्यार्थी प्रवेश परीक्षामा सहभागि भएका छन् । यस्तै मंगलबार कक्षा एक देखि पाँच र प्राविधिक विषयको लागि कक्षा नौ का विद्यार्थीको लागि प्रवेश परीक्षा तोकिएको विद्यालयले जनाएको छ ।
आगामी शैक्षिक सत्रका लागि विद्यालयले निर्धारण गरेको भन्दा चारगुणा बढी विद्यार्थीको आवेदन परेको प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनु भयो ।
उहाँले कक्षा एक मा ३० जनाको सिटमा ५० विद्यार्थी, कक्षा दुई मा १० जनाको सिटमा ५९, कक्षा तीन मा ४५ जनाको सिटका लागि ७४, कक्षा चार मा ४० जनाको सिटका लागि १३१, कक्षा पाँच मा ७१ सिटका लागि २२१, कक्षा छ मा १२२ सिटका लागि ४१९, कक्षामा सात मा ६४ सिटका लागि ४७६, कक्षा आठ मा १५० सिटका लागि ५३६, कक्षा नौ मा ६५ सिटका लागि ३७४ र कक्षा नौ को प्राविधिक तर्फ ४८ जनाको सिटमा ९१ परीक्षार्थीले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् ।
विद्यालयमा हरेक वर्ष प्रवेश परीक्षाका लागि आवेदन दिने विद्यार्थी सङ्ख्या बढ्दो रहेको प्रधानाध्यापक भट्टराईले बताउनु भयो ।
शैक्षिक सत्र २०७९ मा एक हजार आठ सय , शैक्षिक सत्र २०८० मा दुई हजार एक सय विद्यार्थी प्रवेश परीक्षामा सहभागि भएको उहाँले जानकारी दिनु भयो ।संस्थागत विद्यालय जत्तिकै गुणस्तरिय शिक्षा दिएको कारण पोखरिया माविमा विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक भट्टराईको भनाइ रहेको छ ।दक्ष अनुभवी शिक्षक, राजनीति रहित विद्यालय व्यवस्थापन समिति, व्यवस्थापकी पक्ष चुस्त दुरुस्त रहेको कारण विद्यालयको चर्चा सबै जिल्लामा भएको छ ।
विद्यालयमा अनुभवी, तालिम प्राप्त शिक्षक रहनुका साथै विद्यालयले प्रविधिमा बढी जोड दिएको र बालमैत्री शिक्षण सिकाइको कारण विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयले जनाएको छ।
विद्यालयका बारेमा अहिले विद्यार्थीहरुको मौखिक प्रचारप्रसारले अभिभावकसम्म विद्यालयको गुणस्तरीय शिक्षा बारेमा जानकारी पुगेको प्रधानाध्यापक भट्टराईले बताउनु भयो ।विद्यालयका शिक्षक महेश गौतमले गुणस्तरीय शिक्षाका कारण प्रत्येक वर्ष प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या बढ्दै गएको विचार राख्नु भयो ।
उहाँले यसवर्ष देखि आफ्नै उत्पादनका चार सय बढी विद्यार्थी एसईई परीक्षामा सहभागि भएको जानकारी दिनु भयो ।