सामाजिक विभेद अन्त्यका लागि आफूमा परिवर्तन आवश्यक’

कुमोद अधिकारी ५ चैत्र, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक विभेद अन्त्य गर्न स्वयं आफूमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा आजदेखि शुरु भएको दलित जनप्रतिनिधिहरूको तेस्रो कोशी प्रदेश सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले ऐन कानुन बनाएर मात्र विभेद अन्त्य नहुने भएकाले त्यसका लागि आफु भित्रको मानसिकता परिवर्तन गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले विभेदरहित समुन्नत समाजको निमार्ण अहिलेको आवश्यकता हो भन्नुहुँदै उहाँले कोशी प्रदेशमा रङ्ग तथा जातीय विभेद अन्त्य भइसकेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले दलित समुदायको समान अधिकार एवं उनीहरूको राजनीतिक तथा आर्थिक विकासका लागि प्रदेश सरकारले ल्याउन लागेको दलित सशक्तीकरणसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको बताउनुभयो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले जातीय भेदभाव तथा छुवाछुत कानुनी रुपमा दण्डनीय अपराध हो भन्ने कुरा सबैमा जागरूक र सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकारका लागि श्रोत विकास मञ्च रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले दलित समुदायको हक अधिकार सुनिश्चित गर्न तीनै तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

रिडेफ नेपाल लगायतका विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको दुई दिने प्रदेश स्तरीय सम्मेलनमा प्रदेशका सबै स्थानीय तहका दलित जनप्रतिनिधि, प्रदेशसभा सदस्य तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *