कुमोद अधिकारी
फागुन, २ वुधवार
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले प्याब्सन स्पोर्टस् मिट २०८० मा कक्षा १० सम्मको सम्पूर्ण इभेन्टमा एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर तेस्रो भएको जनाएको छ । मंगलबार बेलुका एक विज्ञप्ति जारी गर्दै प्याब्सनले भुलवस नतिजा घोषणाको क्रममा गल्ति भएको जनाएको छ ।
उद्घाटन देखि समापनसम्म सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक समापन भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सबै इभेन्टका मेडल तथा पुरस्कार ठीक ढंगले वितरण भए पनि मानव संसाधन समितिलाई सबै संयोजकहरूले दिएको मेडल तालिका अनुसार समग्र कक्षा १० सम्मको नतिजा घोषणा गर्न ल्याउने क्रममा सगरमाथा स्कूल विराटनगरको कक्षा–११ र १२ को इभेन्टको समेत कक्षा १० सम्मको समग्रमा भुलबस जोडिएको र सो त्रुटी सच्याइ पठाइएको मानव संसाधन समितिको पत्र प्याब्सन मोरङलाई प्राप्त भएको हुदाँ सो आधारले एभरेष्ट सेकेण्डरी स्कुल विराटनगर समग्र कक्षा १० सम्मको मोरङ जिल्ला तेस्रो भएको निर्णय यो प्रेस बिज्ञप्ती मार्फत जानकारी गराइन्छ ।’
प्याब्सन मोरङले यसबाट दुबै विद्यालयलाई पर्न गएको असर प्रति क्षमा माग्दै अर्को पटकबाट त्रुटी रहित नतिजा सार्वजनिक गर्ने जनाएको छ ।