कुमोद अधिकारी विराटनगर
फागुन १ मंगलवार
अर्धभूमिगत भएर स्कुल र कलेजहरुबाट चन्दा असुलीका लागि बम बिस्फोट गराउने योजना बनाइरहेका द्इजना लाई प्रहरीले पक्राउ गरेको छ ।
जनयुद्ध दिवसकै दिन पारेर विराटनगरको एउटा कलेजमा बम राखेर आतंकित पार्ने योजना बनाइरहेका उनिहरुलाई लाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा इलामको माङ्सेबुङ गाँउपालिका–१ गजुरमुखी घर भई हाल काठमाण्डौस्थित भिमसेनगोलामा डेरा गरी बस्ने बर्ष ३८ को प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका–१ बस्ने बर्ष करीव ३० वर्षीय विपिन अधिकारी रहेका छन । उनिहरु लाई आज जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
उक्त समुहले विराटनगर–३ मा एकान्त ठाउँमा लुकाएर राखेको उक्त कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।
पत्रकार सभ्मेलनमा प्रहरी उपरिक्षक पोखरेलले उक्त समुहले केही समयदेखि शैक्षिक संस्थाहरुमा भूमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरी चन्दा आतंक सुरु गरेको वताउनुभयो ।

सुचनाका आधारमा यस कार्यालय तथा मातहतबाट सादा पोशाकमा प्रहरी परिचालन गरिएको र सीसीटीभी फुटेजहरु समेतका आधारमा उक्त समुहको खोजतलास गर्दा सोमबार दिउँसो उनीहरुलाई विराटनगरको परोपकार घाट तथा नेमुवावाट प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–३ स्थित घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको कार्यालयबाट करीव २०० मिटर पश्चिममा रहेको खाली चौरमा लुएको अवस्थामा प्रेसर कुकर वम प्रहरीले फेला पारेको थियो ।
उनीहरुको साथबाट प्रहरीले विस्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, डेडकर्ड, सोडा आधी केजी, सहयोग रसिद २ ठेली, खाली खाम, मुक्तिनाथ प्रकाशन गृहको प्रेस आइडी कार्ड, मोबाइल ४ थान र एनसेलको सिम ६ थान बरामद गरेको छ ।