कुमोद अधिकारी २५ मंसिर, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको जीवनसँग जोडिएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भएर काम गर्नुपर्ने बताउनु भएको छ । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री कार्कीले पहिलो पटक आज स्वास्थ्य मन्त्रालयका कर्मचारीसँगको छलफलमा उहाँले खर्चको अभावमा स्वास्थ्य उपचार वाट कुनैपनि नागरिक वञ्चित हुन नहुने बताउनुभयो ।‘रकमको अभावमा नागरिकको उपचार विहीन अवस्थामा मृत्यु हुन नदिने उद्देश्यले कार्य गर्नुपर्ने ’उहाँको भनाई थियो ।
जनताको स्वास्थ्य प्रती खेलबाड गर्ने कुरा आफूलाई स्वीकार्य नहुने भन्नुहुँदै उहाँले मानव जीवनसँग जोडिएको यो मन्त्रालयका कर्मचारीहरूले अप्ठ्यारो अवस्थामा पनि प्रशंसा पाउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदय रोग उपचार केन्द्र अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री कार्कीले सरकार गठनको एक सय दिन पुगेको अवसरमा विराटनगर–१० मा अस्पताल उद्घाटनमा आउने गरि सो अस्पतालको सेवा सञ्चालनमा ल्याउन आजदेखि काममा लाग्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नु भयो ‘मन्त्रालयमा नयाँ अनुसन्धान आवश्यक रहेको छ भन्दै जनताप्रति उत्तरदायी भएर दुर्गम एवं ग्रामीण क्षेत्रका जनताको सेवा प्रभावमा कुनै कमी हुनुहुँदैन’ । मुख्यमन्त्री कार्कीले आगामी १५ दिनभित्र विशेषज्ञ सहित उपचार सेवा ओखलढुङ्गा र अन्य एक अस्पतालमा सञ्चालनको लागि आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिनु भयो ।
मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा समन्वयको अभाव रहेकोले त्यसलाई सहज बनाउन मुख्यमन्त्री कार्कीलाई आग्रह गर्नुभयो । मन्त्रालयका निकायहरूमा समन्वयको खाँचो रहेको उहाँको भनाई थियो ।

सो अवसरमा मन्त्रालय अन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशाला लगायतका कार्यालयका प्रमुख एवं प्रतिनिधि कर्मचारीहरूले आफ्नो मातहतका कार्यालयहरूले प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउनु भएको थियो ।