पत्रकार शर्मा र मानवअधिकारकर्मी कट्टेल सम्मानित

कुमोद अधिकारी विराटनगर
मंसिर २४ आइतवार
७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकार कर्मीलाई आज सम्मान गरेको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत वरिष्ठ पत्रकार यज्ञ शर्मा र इन्सेककी वाग्मता कट्टेललाई सम्मान गरिएको थियो ।
सञ्जाल मोरङ अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ डिसेम्बर १० मा प्रतिपादित भएपछि त्यसैको आधारमा धेरै अन्तर्राष्ट्रिय कानुनहरु निर्माण भएको बताउनुभयो । सो घोषणापत्रमा नागरिक तथा राजनैतिक अधिकारहरु र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु समेटिएको उहाँको भनाइ थियो ।
नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि नागरिक तथा राजनैतिक अधिकारहरु धेरै प्राप्त भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु अहिले पनि प्राप्त गर्न आमनेपालीले संघर्ष गरिरहनु परेको मेयर कोइरालाले बताउनुभयो ।
खान पाउने र लगाउन पाउने अधिकारबाट धेरै नेपाली अझै पनि वञ्चित रहेकाले तीनै तहको सरकार र मानवअधिकारका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड दिनुभयो ।
मेयर कोइरालाले भन्नुभयो, “बालविवाह, यौनहिंसा, लैंगिक हिंसा, बढ्दो प्रविधिको प्रयोगका कारण सिर्जित लैंगिक हिंंसा र मानसिक समस्यालाई चुनौतीका रुपमा लिई अगाडि बढ्नुको विकल्प छैन ।”
कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्की मानव अधिकारको संरक्षण सम्वधृनमा महानगरपालिकाले जोड दिएको वताउनुभयो ।
कार्यक्रममा गैसस महासंघ कोशी प्रदेश अध्यक्ष लखनलाल मण्डल, मोरङ अध्यक्ष विष्णु शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *