कोशी प्रदेश प्रमुख परशुराम खापुङले सात दिनभित्र सरकार गठनका लागि शनिबार आह्वान गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएपछि १६८ को उपधारा ५ अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।
सरकार गठनका लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २६ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मतका लागि प्रस्ताव राख्ने क्रममा राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुखसमक्ष राजीनामा दिनुभएको थियो । अब कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन हुनेछ । पुस ११ गते दोस्रो प्रदेशसभा गठन भएको साढे नौ महिनामा कोशीमा अब पाँचौं मुख्यमन्त्री नियुक्तिको तयारी सुरु भएको हो ।