कोशी प्रदेशका दुईहजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने

कुमोद अधिकारी
विराटनगर २४ भदौ । कोशी प्रदेशमा आगामी विहिबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले आज विराटनगरमा आयोजना गरेको एचपीभी खोप संवन्धि अभिमुखीकरणमा स्वास्थ्य मन्त्रालयले भदौ २७ देखि ३१ गते भित्रमा ७ वटै प्रदेशका ७ स्थानमा खोप लगाउने तयारी गरेको जानकारी दिइयो ।
कोशी प्रदेशमा भदौ २८ देखि तिन दिनसम्म कोशी अस्पताल विराटनगरमा खोपकेन्द्र निर्धारण गर्दौ यो खोप लगाउन तयारी गरिएको छ । सो खोप केन्द्रमा करिव २ हजार २६ जना किशोरीलाई खोप लगाउने तयारी गरिएको छ ।
एचपीभीको २० हजार मात्रालाई ७ वटा प्रदेशमा विभाजन गरि खोप लगाउने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । सिमित खोपका कारण यसवर्ष १४ वर्षका किशोरीहरुलाई मात्र यो खोपा लगाउने तयारी गरिएको उहाँले बताउनुभयो ।


पाठेघरको मुखको क्यान्सर सन् २०३० निवारणका लागि सन् २०२४ देखि एचपीभी खोप नियमित रुपमा शुरु गरिने उहाँले बताउनुभयो । खोप अधिकृत भण्डारीका अनुसार सन् २०२४ देखि कक्षा ६ का बालिका र विद्यालय बाहिरका १० वर्ष उमेर पुरा भएका बालिका देखि १४ वर्ष उमेर पुरा गरेका किशोरीहरुलाई लक्षित समूहमा राखिएको छ । उहाँले भन्नुभयो,‘ आगामी वर्ष देखि देशभरका १० देखि १४ वर्ष उमेर पुरा गरेकाहरुले खोप पाउने छन् ।’
पाठेघरको क्यान्सर खोप मार्फत निवारण गर्न सकिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सर प्रतिलाखमा ४१÷४२ जनामा देखिने गरेको विभिन्न अध्ययनहरुले देखाएको डा. मेहताले बताउनुभयो ।
एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनु पर्ने डा. अभियान गौतमले जानकारी दिनुभयो । एचपीभी खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमण ९५ प्रतिशत सम्म सुरक्षा हुने उहाँले बताउनुभयो । उहाँका अनुसार एचपीभी मुख्यत संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ तर यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्क मार्फत पनि सर्न सक्छ । डा. गौतमले भन्नुभयो,‘एचपीभी संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ । ’ सामान्य महिलाले ५ वर्षमा र एचआईभी संक्रमित महिलाले ३ वर्षमा कम्तीमा एक पटक पाठेघरको परिक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।
पहिलो पटक शुरु हुन लागेको खोपलाई प्रभावकारी रुपमा सञ्चालन गर्न मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, तथा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *