पञ्चेबाजासहितको महानगरको धान रोपाइँमा मेयर कोइराला

कुमोद अधिकारी असार १५
विराटनगर ÷ २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ ।
पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । रोपाइँ कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्बर ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हिरालाल कामत, वडा सदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनैतिक दलका स्थानीय नेता, समाजसेवी, टोल संगठनमा आबद्ध व्यक्ति, कृषकलगायतको सहभागिता रहेको थियो । सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो । दिवसका अवसरमा शुभकामना दिँदै मेयर कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले किसानले सहज रुपमा मल, सिंचाइ र बिउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिलाई यान्त्रीकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।
चालीसको दशकसम्म नेपालले खाद्यन्न निर्यात गर्दै आएको बताउँदै उहाँले वार्षिक ६ खर्बभन्दा बढीको आयात गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष १८ नम्बर वडामा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *