कुमोद अधिकारी
विराटनगर, १० असार । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गर्नु भएको हो ।
उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताउनुभयो ।
जस अन्तगर्त नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यसैगरी आन्तरिक राजश्वमा २ करोड ७५ लाख आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै मालपोत तर्फ (स्थानीय राजश्व बाँडफाँड) ४ करोड, नेपाल सरकार शसर्त अनुदानमा ३१ करोड ३ लाख, नेपाल सरकार समपुरक अनुदानमा २ करोड २५ लाख, नेपाल सरकार विषेश अनुदान ७२ लाख र प्रदेश सरकार शसर्त अनुदानमा ४ करोड ४३ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएको नगर प्रमुख एवम् नगरसभा अध्यक्ष दिलिप अग्रवालले जानकारी दिनुभयो ।

उहाका अनुसार सोही बजेट अन्तर्गत क्षेत्रगत रुपमा आर्थिक विकासमा ३ करोड ६७ लाख, सामाजिक विकासतर्फ २७ करोड ५० लाख २१ हजार ७ सय ४८, पूर्वाधार विकासमा २० करोड ३९ लाख ३५ हजार ९ सय ३२, शुसासन तथा अन्तरसम्वन्धीत क्षेत्रतर्फ ६३ लाख २८ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २१ करोड ७ लाख ८३ हजार ३ सय २० रुपैयाँ विनियोजन भएको छ ।
नगर प्रमुख अग्रवालले पूँजिगत तर्फ शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण र कृषि क्षेत्रलाई विषेश प्रथामिकतामा राखिएको वताउनुभयो ।
नगरसभामा प्रस्तुत बजेट सर्वसम्मत पारित भएको छ । नगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको योजना अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । ‘नयाँ योजना होइनन् । पुरानै बहुवर्षिय तथा क्रमागत योजनालाई प्रथामिकतामा राखि बजेट विनियोजन भएको छ ।’ योजना अधिकृत भट्टराईले भन्नुभयो,‘माथिबाटै बजेट चालु आ.व. २०८९÷०८० मा १४ करोड बजेट कटौती हुँदा आगामी वर्षको बजेटमा असर परेको छ ।’
चालू आर्थिक वर्षका लागि नगरपालिकाले ८५ करोड बजेट विनियोजन गरेको थियो । नगरसभा नगरप्रमुख अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो ।