एम्सका फिजिसियन डा. विमलेश यादव पारस अस्पतालमा, कोशी प्रदेसमै विशेषज्ञ उपचार सेवा विस्तार

कुमोद अधिकारी
१ साउन,
विराटनगर ÷ विराटनगर–११ स्थित पारस अस्पतालले भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा कार्यरत फिजिसियन डा. विमलेश यादवलाई आबद्ध गराउँदै विशेषज्ञ स्वास्थ्य सेवा थप सुदृढ बनाएको छ । अस्पतालले शुक्रबार आयोजित विशेष कार्यक्रममा डा. यादवलाई औपचारिक रूपमा स्वागत गर्दै सेवा विस्तारको नयाँ चरण सुरु भएको जनाएको छ ।
अस्पतालका संस्थापक अध्यक्ष डा. सफिउर रहमानले खादा र मालासहित डा. यादवलाई स्वागत गर्दै अनुभवी विशेषज्ञ चिकित्सकको आगमनले पूर्वी नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा अस्पतालका डा. मुनेश्वर साहलाई मेडिकल डाइरेक्टरमा पदोन्नति भएको अवसरमा सम्मानसमेत गरिएको थियो ।


अध्यक्ष रहमानले छोटो अवधिमै पारस अस्पतालले पूर्वी नेपालको भरोसायोग्य स्वास्थ्य संस्थाका रूपमा पहिचान स्थापित गर्न सफल भएको दावी गर्नुभयो । उहाले अस्पतालले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको उल्लेख गर्दै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
‘उपचारको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो मूल उद्देश्य हो,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पतालले आवश्यक उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा पनि यो अभियान निरन्तर रहनेछ ।’


डा. रहमानका अनुसार एम्समा लामो अनुभव हासिल गरेका डा. यादवको आगमनसँगै मधुमेह (सुगर), उच्च रक्तचाप, थाइराइड, जटिल आन्तरिक रोग तथा दीर्घरोगको विशेषज्ञ उपचारका लागि भारत वा काठमाडौं धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ । यसले समय, खर्च र उपचार प्रक्रियालाई सहज बनाउने उहाको भनाइ थियो ।
उहाले गुणस्तरीय सेवा, आधुनिक प्रविधि र दक्ष जनशक्तिका कारण अस्पतालमा नेपालसँगै भारतका बिरामीको आकर्षण निरन्तर बढिरहेको बताउनुभयो । उहाका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ८० प्रतिशत भारतको बिहारसहित सीमावर्ती राज्यबाट आउने गरेका छन् । बिरामीको बढ्दो चापका कारण अस्पतालका अधिकांश बेड नियमित रूपमा भरिने गरेको उहाले जानकारी दिनुभयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमनारायण मेहताले स्थापना भएको तीन वर्ष नपुग्दै अस्पतालले उल्लेखनीय संस्थागत प्रगति हासिल गरेको बताउनुभयो । उहाका अनुसार अस्पताल १६ जना कर्मचारीबाट सुरु भएकोमा हाल विशेषज्ञ चिकित्सक, नर्सिङ तथा प्राविधिकसहित १३६ जनाको टोलीमा विस्तार भइसकेको छ ।
‘५० बेडबाट सञ्चालन सुरु गरेको अस्पताललाई अब चरणबद्ध रूपमा ३०० बेड क्षमताको बहुविशेषज्ञ अस्पतालका रूपमा विकास गर्ने योजना छ,’ उहाले भन्नुभया ‘यससँगै अत्याधुनिक उपकरण, थप विशेषज्ञ सेवा र पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखेका छौं।’


नवनियुक्त फिजिसियन डा. विमलेश यादवले एम्समा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई पूर्वी नेपालका बिरामीको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले प्रमाणमा आधारित उपचार प्रणाली, समयमै रोग पहिचान तथा बिरामीमैत्री स्वास्थ्य सेवामार्फत अस्पतालको उपचार प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखा अध्यक्ष सुशीला पाठक, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित तथा पारस अस्पतालका प्रेस सल्लाहकार वीरेन्द्रकुमार साहलगायतले अस्पताल र सञ्चार क्षेत्रबीचको सहकार्य उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो । उहाहरूले बिरामी पत्रकारलाई अस्पतालले उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा संस्थापक अध्यक्ष रहमानले नेपाल पत्रकार महासंघ कोशी प्रदेश र मोरङ शाखामा आबद्ध पत्रकारहरूको उपचार निःशुल्क गर्ने घोषणा गर्नुभयो । उहाले स्वास्थ्य सेवा केवल व्यवसाय नभई सामाजिक दायित्व भएको उल्लेख गर्दै भविष्यमा पनि सेवा, प्रविधि र विशेषज्ञ जनशक्तिमा निरन्तर लगानी गर्दै पूर्वी नेपाललाई उच्चस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *