नेपालले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

 नेपाली महिला फुटबल टिमले आज भारतको सिक्किममा एक मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाल र भारतले पालजोर रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे खेल्नेछ।  नेपाल, भारत र इरान सम्मिलित त्रिदेशीय फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतलाई हराएको नेपालले जितका लागि खेल्नेछ। खेलमा नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रिती राई अनुपस्थित हुनेछन्। खेल अनौपचारिक खेलको रूपमा रहने छ। ‘खेल जस्तो भएपनि हामी जितकै लागि खेल्नेछौं। इरानसँगको पहिलो खेलमा हामी ट्राभलका कारण थकित थियौँ त्यो आजको खेलमा पनि देखिनेछ,’ नेपालका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले खेल अघि बताए। आजको खेलमा सबै खेलाडीलाई मौका दिने भन्दै उनले जितका लागि नेपाली महिला फुटबल टिमले खेल्ने बताए। ‘यो च्यारिटीको लागि खेलिने खेल भएकाले आज हामी सबै खेलाडीलाई मौका दिएर खेल्नेछौं। त्यहि अनुसारले परिवर्तनहरू पनि गर्नेछौँ। 

अघिल्लो भारतसँगको मैत्रीपूर्ण खेलमा यू–२० की फर्वाड मीना देउवाले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन्। आजको खेलमा अर्की यू–२० फर्वाड पूर्णिमा राईले खेल्ने अवसर पाएर उनको सिनियर टिममा डेब्यु हुनेछ। 

एन्फाका टेक्निकल डाइरेक्टर सन्जीव मिश्रका अनुसार फिफामा दर्ता भएको खेल भएकाले आजको खेल पनि अन्तर्राष्ट्रिय खेलकै रूपमा गनिने अन्नपूर्ण पोष्टसँग बताए।उनले भने, ‘आजको खेलमा डेब्यू गरेमा त्यसलाई अन्तर्राष्ट्रिय डेब्युकै रूपमा मानिनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *