कुमोद अधिकारी
३ असोज
विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको प्रागंणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको परिणामस्वरूप जननिर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएकाले यसको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्रीकार्कीले भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुंदै कोशी प्रदेश सरकार संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको चर्चा गर्नुभयो ।
उहाँले सामाजिक–आर्थिक विकासलाई तीव्रता दिँदै समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको बताउनुभयो
संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उहांले जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सिर्जनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
संविधान दिवस मुल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख , मन्त्रालयका सचिव, उधोगी, व्यापारी, पत्रकार तथा नागरिक समाजको सहभागिता रहेको थियो ।
कोशी प्रदेश सरकारले आज विविध कार्यक्रम गरी संविधान दिवस मनाउदै आएको छ ।