कुमोद अधिकारी
फागुन, ८ विराटनगर
दादुरा–रुवेला निवारणका लागि कोशी प्रदेसमा खोप अभियान संचालन हुने भएको छ । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य अनुसार नेपालमा पनि राष्ट्रव्यापी अभियान शुरुगर्न लागिएको हो ।
अभियान अन्र्तगत कोशी प्रदेशमा फागुन १३ देखि चैत ३ गते सम्म खोप लगाईने कार्यक्रम रहेको छ । राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसंख्यालाई खोप लगाई सक्नेगरि तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
मन्त्रालयमा आज वसेको प्रदेश स्तरिय खोप समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो । अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने निर्देशक बस्नेतले जानकारी दिनुभयो ।
फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा अभियानको शुभारम्भ हुने भएको छ । अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसंख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसंख्या ५ लाख २९ हजार २२८ रहेको बताउनुभयो ।
उहाँले लक्षित जनसंख्याको सवैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनुपर्ने बताउनुभयो । भण्डारीका अनुसार मोरङका लक्षित जनसंख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६–२६ प्रतिशत रहेको छ ।
खोप संचालनका लागि प्रदेशभरका ८ हजार ३६६ खोपकेन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मी परिचालन गर्ने गरि तयारी गरिएको वैठकमा जानकारी गराइयो ।
यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि संभव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको हो
सन् २०२२ – २०२३ मा नेपालको धेरै जिल्लाहरुमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।

दादुरा रूबेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोश्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र शर्तहरू रहेको छ ।
प्रति १ लाख जनसंख्यामा वार्षिक कम्तिमा २ जना शंकास्पद बिरामीको पहिचान भै प्रयोगशाला परिक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा रुबेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तिमा १२ महिना सम्म स्थानिय दादुरा रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्ष सम्म सोहि अवस्था कायम भएमा दादुरा–रुबेलाको अवस्था शुन्य भएको मानिन्छ ।
समन्वय समितिको वैठकमा वोल्नुहुदै स्वास्थ्य मन्त्रालय सचिव डा. सुधा देवकोटाले खोपमा ड्रप आउट चिन्ताको विषय भएको बताउनुभयो । खोप कार्यक्रम कार्यन्वयन गर्ने निकाय संवेदनशील भएर अभियान प्रभावकारी वनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
दादुरा–रुवेला एक संक्रमित व्यक्तिबाट १५ देखि १८ जना सम्मलाई संक्रमण हुने भएकाले अभियानलाई सफल वनाउन स्थानिय तथा प्रदेस सरकार विच समन्वय आवश्यक रहेको सचिव देवकोटाको भनाई छ । हरेक स्थानिय तहले आफनो वर्डामा खोप लगाउन वच्चाहरु छटेका छैन भन्ने प्रमाणितगर्ने गरि अभियान संचालनहुने सो अवसरमा जानकारी गराइयो ।