कुमोद अधिकारी
१० असोज,
विराटनगर । आगामी असोज २२ र २३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलनअ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा हुने सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरू सहभागि हुनुहुने छ ।
त्यस्का लागि कोशी प्रदेश सरकारले सम्मेलनको आवश्यक तयारी सुरु गरिसकेको छ । प्रदेशमा देखिएका समस्या र संघीयतालाई बलियो बनाउनका लागि अपनाउनुपर्ने विषयहरूमा मुख्यमन्त्री सम्मेलनमा छलफल हुनेछ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र असल अभ्यासहरूका बारेमा छलफल गरी प्रदेशमा आर्थिक समृद्धि र सुशासनको बाटो अवलम्बन गर्नका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गरिन लागिएको बताउनुभयो ।
कोशी प्रदेश योजना आयोगलाई मुख्यमन्त्री सम्मेलनको आवश्यक तयारी र समन्वय गर्न जिम्मेवारी दिएको छ । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय भइसकेको जानकारी दिँदै सम्मेलनमा योजना आयोगका उपाध्यक्षहरू, मुख्य न्यायाधिवक्ता र सरकारी अधिकारीहरू सहभागी हुने बताउनुभयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले २२ गते सबै मुख्यमन्त्रीहरूको उपस्थितिमा कार्यक्रम उद्घाटन हुने र त्यसपछाडि असल अभ्यासहरूको बारेमा छलफल हुने जानकारी दिनुभयो।
छलफलका क्रममा प्रदेशले भोग्नु परेका समस्या साथै स्थानीय तह संघीय सरकारसँग गर्नुपर्ने समन्वय र कानुनी पाटाका बारेमा अन्तरक्रिया हुने निरौलाले बताउनुभयो।
कार्यक्रमको तालिकामा प्रदेशको पर्यटन प्रवर्धन गर्नका लागि मुख्यमन्त्रीहरूलाई नजिककै गन्तव्यहरू भ्रमण गराउने कार्यक्रम समेत रहेको छ । उपाध्यक्ष निरौलाले पहिलोपटक हुन लागेको यो सम्मेलनले नियमित रुपमा मुख्यमन्त्रीहरूको सम्मेलन गर्ने र समन्वय गर्ने फोरम बनाएर अगाडि बढाउने तयारी समेत गरिएको जानकारी दिनुभयो।
कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद भट्टले सम्मेलनका क्रममा प्रदेश र बहुप्रदेश बीच साझेदारीका विषयमा छलफल हुने भएकाले यो निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले प्रदेशहरूका साझा समस्याहरु निक्र्योल भई समस्या समाधान गर्नका लागि पनि यो फोरम फलदायी हुने बताउनुभयो। यसले प्रदेशहरूको विकास र समृद्धिमा निकै ठूलो फड्को मार्न सक्ने बताउँदै उहाँले यसको सफलताले संघीयता कार्यान्वयन र सबलीकरणमा पनि मद्दत पुग्ने जानकारी दिनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका उत्पादनलाई अन्य प्रदेशमा लैजान या अन्य प्रदेशका उत्पादनलाई कोशी प्रदेशमा ल्याउन र व्यापार प्रवर्धन गर्न समझदारीहरु गरिने बताउनुभयो।
पर्यटन प्रवद्र्धनका सम्भावनाहरू का विषयमा पनि दुई प्रदेशहरूबीच साझेदारी र सहकार्य गर्ने तयारी समेत गरिएको छ। कार्यक्रमको तयारीका लागि आवश्यक समिति र कार्यविभाजन समेत गरेर कोशी प्रदेश योजना आयोगले काम सुरु गरिसकेको छ।