२९ भदौ, नेपाली हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर धार्मिक तथा सांस्कृतिक विधिपूर्वक मनाइँदैछ। तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका विभिन्न शिवालयमा बिहानैदेखि दर्शन र पूजाआजाका लागि श्रद्धालुको उल्लेख्य भीड लागेको छ।
विराटनगरको संसारी माइस्थान, कालीमन्दिर, विराटेश्वर मन्दिरलगायतका शिवालयमा बिहानैदेखि दर्शन र पूजाआजाका लागि भक्तजन पुग्न थालेका छन्।
तीजको दिन विशेष गरी महिलाले भगवान् शिवको पूजा-आराधना गर्दै आफ्नो परिवारको सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गर्ने धार्मिक परम्परा छ। विवाहित तथा अविवाहित महिलाले व्रत बसेर शिव-पार्वतीको पूजा गर्ने र मन्दिरमा पुगेर दर्शन गर्ने गरेका छन्।