कुमोद अधिकारी विराटनगर
१५ असोज,
मोरङको रंगेली नगरपालिकाले चालु आर्थिक वर्षको करको दर र दायरालाई संशोधन गरेको छ । करको दर र दायरालाई नगरमैत्री बनाउन आज बसेको विशेष नगरसभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले पालिकाको कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो नगरपालिकाका प्रमुख दिलिप वगडियाले,नगरबासीले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको करको दरमा पुर्नविचार गर्न आग्रह गरे अनुसार करको दर संशोधन गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले पहिलो पटक चालु आर्थिकवर्षका लागि करका दरमा सामान्य बृद्धि गर्ने निर्णय गरेको भएपनि नगरवासीलेले पुर्नविचारका लागि ध्यानाकर्षण गराएकाले पुरानै अवस्थामा करको दर यथावत गरिएको उहाको भनाई छ । पत्रकार सम्मेलनमा नगर प्रमुख वगडियाले आगामी तीन वर्ष सम्म कर बृद्धि नगर्ने पनि घोषणा गर्नुभएको छ ।
करको दर र दायरालाई नगरमैत्री वनाउने उदेश्य आफुहरुको रहेको र सो कार्यमा नगरवासीको हरुको सहयोग आफुले पाई रहेको मेयर वगडियाले वताउनुभयो ।नगरको विकासका लागि सामान्य करमा हेरफेर गरिएकोमा नगरपालिकाले अत्यधिक कर बृद्धि गरेको भनेर जनतामा भ्रम छर्ने काम भएको उहाँले बताउनुभयो ।
नगर प्रमुख वगडियाले भन्नुभयो,‘ नगरपालिकाले बृद्धि गरेको करबाट बार्षिक करिव ३० लाख मात्रै आम्दानी हुने थियो । ३० लाखबाट एउटा कल्भर्ट बन्ने थियो होला । तीन वर्ष ३ वटा कल्भर्ट नबनाउँला ।’ नगरको बार्षिक आन्तरिक आम्दानी एक करोड मात्रै रहेको उहाँले बताउनुभयो ।

आज वसेको विशेष नगरसभा बैठकले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि पारित भएको सिफारिस दस्तुर गत आर्थिक वर्ष बमोजिम हुने, घरजग्गा कारोकार गर्नेको हकमा घर बाटो सिफारिस १ हजार लाग्ने, खोलको तटिय क्षेत्रका बालि नलाग्ने जग्गामा वडा समितिको निर्णयको आधारमा प्रतिकठ्ठा ५ रुपैयाँ कायम गर्ने, वडा समितिले निर्णय गर्दा सर्जमिन गर्नुपर्ने भएमा सर्जमिन बापतको रकम नलिने, नम्वरी जग्गामा खर वा परालले छाएको घरको हकमा सो घरको घर कर पूर्णरुपमा निशुल्क हुने निर्णय गरिएको उहाले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिका भित्र विभिन्न प्रकारका सडकहरुले छोएको जग्गाको हकमा ३ कठ्ठा थ्रेसहोल्ड मानि ३ कठ्ठा जग्गाको मालपोत सोही प्रकरण अनुसारको लिने र बाँकी जग्गाको हकमा खेती योग्य जग्गा सरह मालपोत लिने, सकुम्वासीको हकमा घर कर निशुल्क गर्ने लगायतका निर्णय गरिएको छ ।
पत्रकार सम्मेलनमा नगरप्रमुख वगडियाले ९ वटै वडालाई समेटेर ३८ किलोमिटर सडक कालोपत्रे भईरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष भित्रमा ३८ किलोमिटर सडक कालोपत्रे भईसक्ने बताउनुभयो । आगामी तीन वर्ष भित्रमा नगरका सवै सडकहरु कालोपत्रे गरिसक्ने उहाँले बताउनुभयो ।
कर वुद्धिको विषयलाई लिएर नेपाली कांग्रेसले रंगेलीमा आन्दोलन समेत गरेको थियो । आन्दोलन पछि करको दर घटाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले विच सहमती भएको थियो । पत्रकार सम्मेलनमा मेयर वगडियाले राजनितिक दल तथा नगरवासीले करको दरको विषयमा पुर्नविचार गर्न आग्रह गरेपछि करको दरमा संशोधन गरेको र आफुले नगरवासीको भावना अनुसार काम गरिरहेको वताउनुभयो ।