मोरङमा घरेलु उद्योग अन्तर्गत ३० हजार उद्योगमा ४५ अर्ब लगानी र तीन लाखलाई रोजगारी प्रदान

कुमोद अधिकारी
मोरङ,१७ फागुन
मोरङ जिल्लामा साना तथा घरेलु उद्योग संघ अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित रहेको सहभागीहरुले बताउनु भएको छ। उद्योगहरुमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी पाएका छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतन निरौलाले उक्त जानकारी दिनु भएको हो । सोही अवसरमा महिला उद्यम समिति मोरङको २१ औँ साधारण सभा र १० औँ अधिवेशन समेत हुने छ ।
अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तुहरु, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामाग्री एंव महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको बजारिकरण गर्ने उद्देश्यले ६० स्टल सहित एक दिने प्रदर्शनीको आयोजना गरिने निरौलाले वताउनुभयो ।
सो अवसरमा अध्यक्ष निरौलाले यस क्षेत्रका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत रु पाँच लाख, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाण्डौमार्फत अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा रु २० लाख उपलव्ध गराएको जानकारी दिनु भयो ।
यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट महिला उद्योगी एवं समूहलाई टेवा पुँजी सहित प्रविधि सहयोगमा रु २० लाख र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान काठमाण्डौंवाट तीन प्रतिशत व्याजमा रु २५ लाख उपलव्ध गराइएको उहाँले बताउनु भयो ।
प्रदेश सरकारले घरेलु उद्यमीद्वारा उत्पादित सामग्री अनिवार्य खरीद गर्नु पर्ने नीति निर्माण गर्नुपर्ने अध्यक्ष निरौलाले सुझाव दिनु भयो ।
स्थानीय तहबाट ठक्कामार्फत गरिने प्राविधिक तालीम उपयोगी नभएकोले घरेलु उद्योगसँग समन्वय गर्नुपर्ने विचार राख्नु भयो ।
वरिष्ठ उपाध्यक्ष गोपाल काफ्ले संघका सदस्यहरुद्वारा सञ्चालित उद्योगमा तालीम सञ्चालन भएमा रोजगारी समेत उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
संघमा आवद्ध उद्योगलाई चाहिने दक्षजनशक्ति स्वदेशमा उपलव्ध नभएको कारण वढी पारिश्रमिक दिएर अन्य मुलुकबाट ल्याउने अवस्थामा विद्यमान रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *