प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिक तिम्सिना सम्मानित

कुमोद अधिकारी फागुन, ७
विराटनगर ÷ ७४ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ स्थित अलका टोल समितिले अग्रज साहित्यकारसमेत रहनुभएका ज्येष्ठ नागरिक हरिप्रसाद तिम्सिनालाई सम्मान गरेको छ ।
सोमबार ज्येष्ठ नागरिक वडा समितिको भवनमा आयोजित कार्यक्रममा तिम्सिनालाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्कीले तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो
टोल समितिले हरेक वर्ष समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेउपानेले २००७ सालको जनक्रान्तिको जगमा उभिएर अहिलेको संघीय लोकतान्त्रिक व्यवस्था आएको बताउनुभयो । उहाँले इतिहासलाई कसैले पनि मेट्न नसक्ने प्रस्ट पार्नुभयो ।
कार्यक्रममा समाजसेवी चिरञ्जीवी दाहाल, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, प्रमुख सल्लाहकार ललित श्रेष्ठ, उपाध्यक्ष कृष्णकुमारी थापा, ध्रुव चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, मोहनकुमार ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित सिर्जना वाचन गर्नुभएको थियो । सोही अवसरमा समाजसेवी पदमकुमार श्रेष्ठ र ललित श्रेष्ठलाई ज्येष्ठ नागरिक वडा समितिको सल्लाहकारको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
अमेरिका निवासी विभूति तिम्सिना पौडेल र युवा व्यवसायी सीताराम कोइरालाले ज्येष्ठ नागरिक वडा समितिको आजीवन सदस्यता ग्रहण गर्नुभएको थियो । सो अवसरमा अलका टोल (घ) समितिको प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *