विराटनगरबाट ४२० किलो गाँजा बरामद

विराटनगर

मोरङको विराटनगर –५ पुलचोकमा आइतबार राति भएको सवारी दुर्घटनाले लागुऔषध तस्करी सञ्जाल सक्रिय रहेको भेटिएको छ । बा ८ च ६५०८ नम्बरको स्कोरपिओ अनियन्त्रित भइ सडक छेउको खाल्डोमा खसेपछि प्रहरीले गाडीभित्र लुकाइछिपाइ राखिएको ४२० किलो गाँजा बरामद गरेको हो । 

चालक दुर्घटनालगत्तै फरार छन् । प्रहरीका अनुसार राति करिब १ बजेतिर भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक नियन्त्रण गुमाएर खाल्डोमा खसेको थियो । सूचना पाएपछि सीआरभी बरगाछी र वडा प्रहरी कार्यालयको टोली घटनास्थल पुग्दा गाडी खाल्डोमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

गाडी नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा पछाडिको सिटमुनि र डिक्कीमा प्लास्टिकले बेरेर प्याक गरिएको ४२० किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले बरामद गरिएको गाँजाका सम्बन्धमा  अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

प्रहरीको प्रारम्भिक विश्लेषणअनुसार सुरक्षाकर्मीको निगरानी छल्न चालकले मुख्य सडक छोडेर भित्री मार्ग प्रयोग गरेको हुनसक्छ । निर्वाचन नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रमा चेकजाँच कडा पारिएपछि तस्कर समूहले वैकल्पिक रुट रोज्ने गरेको प्रहरीको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *